सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद, तस्करीमा प्रयोग भएको आशंका

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–६ स्थित बुढी खोलाको किनारबाट प्रहरीले ५७४ किलोभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २ गते कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ नम्बर नखुलेको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा चेकजाँच सुरु गरेको थियो।खोजतलासका क्रममा दुहबी नगरपालिका–६ स्थित बुढी खोलाको किनारमा ना. ४ च. ६०६३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त एम्बुलेन्सको चेकजाँच गर्दा भित्र लुकाइराखिएको ५७४ किलो ८७० ग्राम गाँजा बरामद भएको हो।प्रहरीले बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा गाँजा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

