वीरगञ्जमा ५.६९ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले ५ ग्राम ६९ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ।सशस्त्र प्रहरीका अनुसार २०८३ कात्तिक १ गते पर्साको वीरगञ्ज महानगरपालिका–२५, सिर्सियास्थित सशस्त्र प्रहरी बलको बीओपी ड्राईपोर्टबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।जाँचका क्रममा भारतको मोतिहारी, डंकन रोड–७, मिश्र कोलोनी निवासी अन्दाजी २८ वर्षीय रितेश कुमारको साथबाट लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने ५.६९ ग्राम पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।प्रहरीले मोटरसाइकल, लागूऔषधजस्तो देखिने पदार्थ र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सोही दिन राति ११ बजे इलाका प्रहरी कार्यालय छपकैया, पर्सामा बुझाएको जनाएको छ।घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया नेपाल प्रहरीमार्फत अघि बढ्नेछ।

