पर्साबाट १३ लाख ४५ हजार रुपैयाँ बराबरका अवैध औषधि बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब १३ लाख ४५ हजार रुपैयाँ बराबरका औषधि बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत पर्सामा खटिएको सुरक्षा टोलीले विभिन्न औषधिका प्याकेटसहित उक्त सामग्री बरामद गरेको हो। बरामद औषधि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।सीमावर्ती क्षेत्रबाट हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ। अवैध रूपमा औषधि भित्र्याउँदा सरकारी राजस्वमा असर पर्नुका साथै औषधिको गुणस्तर तथा सुरक्षासम्बन्धी जोखिमसमेत उत्पन्न हुन सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण आवश्यक रहेको छ।सशस्त्र प्रहरीले सीमाक्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

