पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेशको विरोध, विश्व हिन्दू महासंघले माग्यो कडा कारबाही

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूल मन्दिर क्षेत्रमा गैरहिन्दू प्रवेश गरेको घटनाप्रति नेपाल विश्व हिन्दू महासंघले गम्भीर आपत्ति जनाएको छ।महासंघका महासचिव डा. अभिषेक तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा पशुपतिनाथ मन्दिर सनातन धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र तथा नेपालको धार्मिक एवं सांस्कृतिक पहिचानसँग जोडिएको स्थल भएकाले यसको धार्मिक परम्परा र मर्यादा कायम राख्नुपर्ने उल्लेख गरिएको छ।महासंघले पशुपतिनाथ मन्दिरमा हिन्दू धर्मावलम्बीबाहेक अन्यलाई मूल मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने धार्मिक परम्परा र नियम रहेको दाबी गर्दै पछिल्लो घटनाले उक्त व्यवस्थाको उल्लङ्घन भएको जनाएको छ।विज्ञप्तिमा सामाजिक सञ्जालमा मन्दिर प्रवेशसम्बन्धी भिडियो सार्वजनिक भएको विषयलाई समेत उल्लेख गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न र यसमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।महासंघले घटनामा पशुपति क्षेत्र विकास कोषको सुरक्षा तथा व्यवस्थापन प्रणालीबारे पनि प्रश्न उठाएको छ। मन्दिरको संवेदनशील क्षेत्रमा यस्तो घटना कसरी भयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने महासंघको भनाइ छ।महासंघले पशुपति क्षेत्र विकास कोष र सम्बन्धित सुरक्षा निकायसँग घटनाबारे तत्काल सार्वजनिक स्पष्टीकरण दिन, सुरक्षा व्यवस्थामा भएको कमजोरीको छानबिन गर्न तथा कर्तव्यमा लापरबाही गर्ने सुरक्षाकर्मी वा कर्मचारीमाथि आवश्यक कारबाही गर्न माग गरेको छ।महासंघले धार्मिक तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि हुन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रहसमेत गरेको छ। साथै, पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा र परम्परा संरक्षणका लागि आफूले निरन्तर आवाज उठाउने जनाएको छ।

