नेपाली सेनाद्वारा मधेसका पत्रकारका लागि चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

बर्दिबास, २० असोज । नेपाली सेना र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुदृढ गर्दै सुरक्षा तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार, तथ्यमा आधारित र सन्तुलित समाचार सम्प्रेषणलाई प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका सञ्चारकर्मीका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ बर्दिबासमा सुरु भएको छ।मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपूर्वी पृतनापति भुवन केसीले नेपाली सेना र सञ्चार क्षेत्रबीच निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताए।उनले सुरक्षा तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा तथ्यको सही पहिचान, स्रोतको विश्वसनीयता र जिम्मेवार पत्रकारितालाई विशेष प्राथमिकता दिनुपर्ने बताए। सञ्चारमाध्यमले नागरिकलाई सही र विश्वसनीय सूचना उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सेना र पत्रकारबीच आपसी समझदारी अझ बलियो बनाउनुपर्ने उनको भनाइ थियो।अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको संगठनात्मक संरचना, कार्यक्षेत्र, जिम्मेवारी, भूमिका तथा सेनाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराइनेछ।कार्यक्रमकी संयोजक प्रमुख सेनानी प्रतिभा थापाले नेपाली सेना र पत्रकारिता क्षेत्रबीचको सम्बन्धलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। सेनाको गतिविधि, जिम्मेवारी र कार्यप्रणालीबारे सञ्चारकर्मीलाई प्रत्यक्ष जानकारी गराउँदा समाचार सम्प्रेषणमा तथ्यपरकता, स्पष्टता र विश्वसनीयता बढ्ने उनको भनाइ छ।चारदिने कार्यक्रममा नेपाली सेनाको भूमिका तथा जिम्मेवारीसँगै विपद् व्यवस्थापन तथा प्रतिकार्य, समसामयिक सुरक्षा अवस्था, संकटका समयमा सञ्चारमाध्यमको भूमिका लगायतका विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रिया गरिनेछ।कार्यक्रममा सेना र सञ्चारमाध्यमका प्रतिनिधिबीच प्रत्यक्ष संवाद तथा अन्तरक्रिया पनि हुने जनाइएको छ। यसबाट सुरक्षा निकाय र सञ्चार क्षेत्रका प्रतिनिधिले एकअर्काको भूमिका, जिम्मेवारी तथा कार्यप्रणाली बुझ्न सहज हुने अपेक्षा गरिएको छ।सुरक्षा तथा राष्ट्रिय सरोकारका विषयमा समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना सञ्चारकर्मीको सहभागिता रहेको छ।

