सांसद रहबर अन्सारीलाई विद्यार्थीको समर्थन, नेशनल मेडिकल कलेजको बेथितिमाथि तत्काल छानबिनको माग

वीरगञ्ज, १९ असोज । प्रतिनिधिसभाको बैठकमा सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा देखिएको भनिएको बेथिति, विद्यार्थीमाथि गरिएको व्यवहार र व्यवस्थापनको कार्यशैलीबारे आवाज उठाएपछि विद्यार्थीहरूले समेत उनको भनाइप्रति ऐक्यबद्धता जनाएका छन्।
सांसद अन्सारीले प्रतिनिधिसभामा बोल्दै विद्यार्थीहरूलाई होस्टेलबाट निकालिएको, अस्पतालमा काम गर्न नदिइएको तथा कलेजको मूल गेटबाट प्रवेश गर्नसमेत प्रतिबन्ध लगाइएको विषय उठाएका थिए। कलेज व्यवस्थापनको उक्त व्यवहारका कारण विद्यार्थीहरू करिब १० दिनदेखि आन्दोलनमा रहेको विषयसमेत उनले सदनमा जानकारी गराएका थिए।
सांसद अन्सारीले सदनमा विषय उठाएपछि विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो आवाज सार्वजनिक गर्दै घटनाप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्। विद्यार्थीहरूले कलेज व्यवस्थापनसमक्ष समेत निवेदन दिँदै आफूहरूले भोग्दै आएका समस्याको समाधान तथा शैक्षिक वातावरण सुधार गर्न माग गरेका छन्।
विद्यार्थीहरूका अनुसार कलेजभित्रको समस्या होस्टेल र अस्पताल प्रवेशमा लगाइएको भनिएको प्रतिबन्धमा मात्र सीमित छैन। कक्षाकोठामा शिक्षकहरू नियमित रूपमा उपस्थित नहुने, उपस्थित भए पनि सातामा एकपटकजस्तो औपचारिकताका लागि मात्र कक्षा लिने गरेको उनीहरूको आरोप छ। यसबाट आफ्नो अध्ययन प्रभावित हुनुका साथै भविष्य नै अन्योलमा परेको विद्यार्थीहरूको गुनासो छ।
विद्यार्थीहरूले चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा शिक्षण सिकाइ, अस्पतालमा व्यावहारिक प्रशिक्षण तथा विद्यार्थीको अधिकारलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। कलेज व्यवस्थापनले विद्यार्थीका जायज माग सम्बोधन गर्दै नियमित पठनपाठन र शैक्षिक वातावरण सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
सम्बन्धित निकायले समेत घटनाबारे तत्काल ध्यानाकर्षण जनाई कलेजको शैक्षिक तथा प्रशासनिक गतिविधिको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्ने विद्यार्थीहरूको माग छ। उनीहरूले शिक्षकको नियमित उपस्थिति, पठनपाठनको गुणस्तर, अस्पतालमा विद्यार्थीको व्यावहारिक प्रशिक्षण तथा होस्टेलसम्बन्धी विषयमा निष्पक्ष छानबिन गरी आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।
विद्यार्थीहरूले सांसद अन्सारीले सदनमा उठाएको विषयले आफूहरूको समस्या राष्ट्रिय तहमा पुगेको भन्दै अब सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिएर समाधानका लागि ठोस पहल गर्नुपर्ने बताएका छन्।

