भिस्वादेखि पोखरियासम्म रातभर तस्करीको आरोप, प्रहरी निगरानीमाथि स्थानीयको प्रश्न

पर्सा, १९ असोज । पर्साको भिस्वा नाकादेखि कालिकामाई गाउँपालिका हुँदै पोखरियासम्मको क्षेत्रमा रातको समयमा अवैध रूपमा सामान ओसारपसार तथा तस्करी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन्।स्थानीयका अनुसार राति विभिन्न स्थानबाट शंकास्पद रूपमा सामान ओसारपसार हुने गरेको छ। सीमा क्षेत्र हुँदै ग्रामीण सडक तथा मुख्य मार्ग प्रयोग गरी रातको समयमा सामान ल्याउने–लैजाने गतिविधि हुने गरेको उनीहरूको दाबी छ।यस्तो गतिविधि लामो समयदेखि भइरहेको भए पनि नियन्त्रण तथा निगरानीका लागि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको स्थानीयवासीको गुनासो छ। उनीहरूले रातको समयमा हुने आवतजावत तथा शंकास्पद गतिविधिमाथि निगरानी कमजोर हुँदा तस्करी गर्ने समूहलाई सहज भएको बताएका छन्।स्थानीयवासीले सीमा क्षेत्रदेखि पोखरियासम्मका संवेदनशील स्थानमा नियमित गस्ती तथा निगरानी बढाउन माग गरेका छन्। उनीहरूले शंकास्पद रूपमा ओसारपसार भइरहेका सामान, सवारीसाधन तथा व्यक्तिमाथि आवश्यक जाँच र अनुसन्धान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा निकायबीच समन्वय बढाउनुपर्ने र रातको समयमा विशेष निगरानी अभियान सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।स्थानीयवासीले तस्करीका कारण राजस्वमा समेत असर पर्न सक्ने भन्दै सम्बन्धित निकायले आरोपबारे गम्भीर रूपमा छानबिन गरी दोषी भेटिए कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।

