मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न वीरगञ्ज महानगरको माग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तारको कामसँगै विद्युत् तार भूमिगत गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ।महानगर प्रमुख राजेशमान सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र पठाउँदै सडक विस्तारको काम सम्पन्न भएपछि पुनः विद्युत्का पोल तथा तार जडान गर्दा सडक सञ्चालन, यातायात व्यवस्थापन, मर्मतसम्भार तथा शहरी सौन्दर्यमा समस्या उत्पन्न हुन सक्ने उल्लेख गरेका छन्।महानगरपालिकाले सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने काम अघि बढाउन सके भविष्यमा सडक खन्नुपर्ने अवस्था कम हुने, यातायात व्यवस्थापन सहज हुने तथा शहरी क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने जनाएको छ।प्रमुख सिंहले मुख्य सडकखण्डमा पूर्वाधार निर्माणका कामहरू एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्ने योजनाका लागि आवश्यक बजेट तथा समन्वयको व्यवस्था गर्न मन्त्रालयसँग आग्रह गरेका छन्।महानगरका अनुसार सडक विस्तारपछि पुनः पोल गाड्ने तथा तार व्यवस्थापन गर्ने अवस्था आएमा निर्माण गरिएको सडकमा क्षति पुग्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत थप चुनौती आउन सक्छ। त्यसैले सडक विस्तारको योजनासँगै विद्युत्, सञ्चारलगायतका पूर्वाधारलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको महानगरको भनाइ छ।वीरगञ्जको मुख्य प्रवेशमार्गका रूपमा रहेको गण्डक–घण्टाघर–भन्सार सडकखण्डलाई व्यवस्थित बनाउन सडक विस्तारसँगै आवश्यक शहरी पूर्वाधारको दीर्घकालीन व्यवस्थापनमा महानगरले जोड दिएको हो।

