भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले मासिक १५ हजारसम्म आवास सहायता दिने

काठमाडौं गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएका नागरिकलाई सरकारले स्थायी आवास निर्माण नहुन्जेलसम्म मासिक आवास तथा राहत खर्च उपलब्ध गराउने निर्णय गरेको छ।गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई अस्थायी आवासका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।चार जनाभन्दा बढी सदस्य रहेको परिवारका हकमा भने आधार रकममा प्रत्येक थप सदस्यका लागि मासिक २ हजार रुपैयाँ थप गरिने सरकारले जनाएको छ। यसबाट ठूलो परिवारलाई समेत आवश्यकताअनुसार आवास व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।सरकारले नगद सहायता लिन नचाहने प्रभावित परिवारका लागि भने वैकल्पिक रूपमा सरकारकै तर्फबाट अस्थायी आवासको व्यवस्था गर्ने निर्णय गरेको छ। यसले बाढीका कारण घरबारविहीन भएका तथा तत्काल सुरक्षित आवासको आवश्यकता रहेका परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।यसैबीच, प्रभावित क्षेत्रका वास्तविक पीडित तथा क्षतिको विवरण संकलन गर्न स्थानीय तहहरूमा आवश्यक फारम पठाइसकिएको सरकारले जनाएको छ। प्रारम्भिक क्षतिको मूल्यांकन सम्पन्न भइसकेको र अहिले विस्तृत आवश्यकता मूल्यांकनको काम भइरहेको बताइएको छ।संकलन हुने विवरणका आधारमा प्रभावित परिवारको वास्तविक अवस्था पहिचान गरी पुनर्निर्माण, पुनर्स्थापना तथा दीर्घकालीन आवास व्यवस्थापनका कार्यक्रमलाई थप तीव्रता दिइने सरकारको भनाइ छ।भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार विस्थापित भएका छन्। सरकारले तत्कालीन राहतसँगै स्थायी पुनर्स्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

