महँगी, ग्यास अभाव र कालोबजारीविरुद्ध अखिल (क्रान्तिकारी) को देशव्यापी आन्दोलन घोषणा, विरोध प्रदर्शनदेखि धर्ना र घेराउसम्मका कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि, खाना पकाउने ग्यासको अभाव तथा बढ्दो कालोबजारीविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ।संगठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी परिपत्रमार्फत जनजीविकासँग प्रत्यक्ष जोडिएका सवाललाई लिएर तत्काल सडक संघर्षमा उत्रिन मातहतका सम्पूर्ण प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस तथा पालिका कमिटीहरूलाई निर्देशन दिइएको छ।परिपत्रमा ग्यासको अभाव, कालोबजारी तथा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यवृद्धिले आम नागरिकको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको उल्लेख गरिएको छ। विपन्न परिवारको चुलो बल्न कठिन भएको, सुत्केरी आमाहरूले समेत पेटभरि खान नपाउने अवस्था सिर्जना भएको तथा विद्यार्थीहरू विद्यालय जानुको सट्टा ग्यासको लाइनमा बस्नुपर्ने बाध्यता उत्पन्न भएको भन्दै संगठनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।त्यस्तै, सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी नीतिका कारण सरकारी अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको र सर्वसाधारण नागरिक उपचारबाट वञ्चित हुनुपरेको भन्दै उक्त व्यवस्था तत्काल अन्त्य गर्न पनि अखिल (क्रान्तिकारी) ले माग गरेको छ।जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउन विरोध प्रदर्शन, ज्ञापनपत्र बुझाउने, धर्ना तथा घेराउलगायतका दबाबमूलक कार्यक्रम देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न संगठनले मातहतका कमिटीहरूलाई निर्देशन दिएको जनाएको छ।

