रसुवागढी बाढीपीडितको सहयोगार्थ वीरगञ्जमा बृहत् रक्तदान

वीरगञ्ज, २२ भदौरसुवागढीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले वीरगञ्जमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आकस्मिक उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको हो।वीरगञ्ज महानगरपालिका–१३ अन्तर्गत घण्टाघर चोकमा आयोजित कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन्। “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ आर.पी. फाउन्डेसन र वीरगञ्ज महानगरपालिका–१३ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको अध्यक्षता प्रतीक्षा अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका–१३ का वडाध्यक्ष हिरा गिरी सहभागी हुनुभएको थियो। कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराईलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।रक्तदाताहरूले बाढीका कारण प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। आयोजकका अनुसार प्राकृतिक विपद्का समयमा घाइते तथा बिरामीको उपचारका लागि रगतको माग बढ्न सक्ने भएकाले सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो।रसुवागढी बाढीबाट प्रभावित नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुका साथै आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धता सुनिश्चित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।आयोजकले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा सहभागी रक्तदाता, सहयोगी तथा अतिथिप्रति आयोजकले आभार व्यक्त गरेको छ।

