वीरगञ्ज, फागुन २७ – जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार आमाको नामको आधारमा ६ जनालाई नेपाली नागरिकता प्रदान गरेको छ। बुबाको पहिचान नहुँदा लामो समयदेखि नागरिकता प्राप्त गर्नबाट वञ्चित रहेका व्यक्तिहरूलाई आमाको नामबाट नागरिकता दिइएको हो।गत जेठ महिनामा राष्ट्रपतिराम चन्द्र पौडेल ले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि आमाको नामबाट नागरिकता दिने कानुनी व्यवस्था कार्यान्वयनमा आएको हो। सोही व्यवस्था अनुसार पर्सा जिल्लामा पनि आमाको नामबाट नागरिकता वितरण प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।मंगलबार वीरगञ्ज श्रीपुर–११ निवासी शोभा कुमारीका छोरा विजय कुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको छ। त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ग्यासुदिन अन्सारी, सम्सुल अन्सारी, निसुल अन्सारी, जुबैर अन्सारी र सुबैर अन्सारीलाई पनि आमाको नामको आधारमा नागरिकता प्रदान गरिएको प्रशासनले जानकारी दिएको छ।नागरिकता ऐन तथा नियमावलीमा हालै गरिएको संशोधनअनुसार विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकलाई आमाको नामको आधारमा नागरिकता दिन सकिने व्यवस्था लागू भएपछि पर्सामा पनि यसको कार्यान्वयन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
