वीरगञ्ज, फागुन ५ — निर्वाचनको संवेदनशील समयमा सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने अवस्थामा पर्साको श्रीसिया नाका पुनः विवादमा तानिएको छ। स्थानीय बासिन्दाले खुला रूपमा तस्करी भइरहेको आरोप लगाउँदै सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन्।स्थानीय स्रोतका अनुसार भारतको रक्सौल बजारबाट खरिद गरिएका विभिन्न उपभोग्य सामग्री तथा कपडाजन्य सामान कोनिया गाउँ हुँदै आईसीपी नजिकको भित्री बाटो प्रयोग गरी नेपाल भित्र्याउने गतिविधि पछिल्लो समय बढेको छ। खुला सीमा र निर्वाचनको व्यस्ततालाई अवसरका रूपमा प्रयोग गर्दै अवैध ओसारपसार मौलाएको दाबी गरिएको छ।विशेषगरी राति ८ बजेपछि तस्करी गतिविधि सक्रिय हुने गरेको स्थानीयको भनाइ छ। महिलालाई भरिया बनाएर ठूलो परिमाणमा सामान बोकाइने तथा पुरुषहरूले मोटरसाइकल, ठेला र साइकलमार्फत सामान ओसारपसार गर्ने गरेको आरोप छ। सीमावर्ती क्षेत्रमा यस्ता गतिविधि भइरहँदा नियन्त्रणमा खटिनुपर्ने निकाय मौन बसेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।नेपाल प्रहरी मातहतको प्रहरी चौकी श्रीसियाका इन्चार्ज वरिष्ठ सई श्यामबाबु यादवमाथि तस्करी नियन्त्रण गर्नुको साटो संरक्षण दिएको आरोपसमेत स्थानीयस्तरमा उठेको छ। यद्यपि, यी आरोपबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।पर्सा जिल्लाका प्रहरी प्रमुख सुदिप राज पाठक बिदामा रहेको अवस्थालाई समेत तस्करहरूले अवसरका रूपमा प्रयोग गरेको स्थानीयको दाबी छ। श्रीसिया नाका पर्सामा सबैभन्दा बढी तस्करी हुने सीमाबिन्दुमध्ये एक मानिने गरिएको छ। चौकीमा दरबन्दी र सरुवासम्बन्धी विषयमा पनि विभिन्न चर्चा चलिरहनु थप चिन्ताको विषय बनेको छ।निर्वाचनजस्तो संवेदनशील समयमा सीमा क्षेत्रबाट हुने अवैध गतिविधि केवल राजस्व चुहावटको विषय मात्र नभई राष्ट्रिय सुरक्षासँग पनि जोडिएको गम्भीर सवाल हो। कानुन कार्यान्वयन गर्ने निकायमाथि नै प्रश्न उठ्नु दुःखद भएको भन्दै स्थानीयवासीले निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।सम्बन्धित निकायबाट औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको
