बारा । तीन दशकभन्दा बढी समय नेपाल प्रहरी सेवामा रहेर अपराध, भ्रष्टाचार र गुण्डागर्दीविरुद्ध कठोर रूपमा उभिएका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्बेन्द्र खनालको सक्रिय राजनीतिमा प्रवेशसँगै बारा निर्वाचन क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक तरंग देखिएको छ। अनुशासन, सुशासन र निडर नेतृत्वका प्रतीकका रूपमा परिचित खनालको आगमनले स्थानीय जनतामा “अब साँच्चिकै नेतृत्व बदलिन्छ कि?” भन्ने आशा जागेको छ।प्रहरी सेवामा रहँदा कानुन कार्यान्वयनमा कडाइ, निष्पक्षता र परिणाममुखी कार्यशैलीका कारण चिनिएका खनालले नीति निर्माण हुने थलो—संसद्—मार्फत दीर्घकालीन सुधार आवश्यक रहेको बताउँदै राजनीतिमा प्रवेश गरेका हुन्। उनका अनुसार समस्या व्यवस्थामा होइन, गलत नेतृत्व, दोहोरिने सत्ता खेल र दण्डहीनतामा छ। यही दुष्चक्र तोड्न आफू मैदानमा आएको उनको दाबी छ।बारा–४ का मतदाता लामो समयदेखि उही अनुहार, उही आश्वासन र उही नतिजाबाट आजित छन्। विकास, रोजगारी, शान्ति–सुरक्षा र सुशासनका मुद्दा चुनावमा उठे पनि कार्यान्वयन कमजोर हुँदै आएको जनगुनासोबीच खनालको उम्मेदवारीलाई धेरैले ‘राजनीतिमा नयाँ अध्याय’ का रूपमा हेरिरहेका छन्। स्थानीय बासिन्दा भन्छन्, “कानुन कार्यान्वयन गरिसकेको व्यक्ति संसद् पुगे परिणाम देखिनेछ।”घरदैलो भेटघाट, जनसंवाद र स्थानीय सरोकारका मुद्दामा खनालले दिएको जोडले युवादेखि ज्येष्ठ नागरिकसम्म आकर्षित भएको देखिन्छ। अपराधमुक्त समाज, पारदर्शी प्रशासन, सार्वजनिक सेवामा जवाफदेहिता र विकास योजनामा भ्रष्टाचारमुक्त कार्यान्वयन उनको प्रमुख एजेन्डा रहेको उनी नजिकका स्रोत बताउँछन्।