वीरगञ्ज जनमत पार्टीले पर्सा क्षेत्र नम्बर–१ बाट जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फलाई आफ्नो आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको छ। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका सरार्फलाई जनमत पार्टीले पर्सा–१ मा वैकल्पिक र प्रभावशाली उम्मेदवारको रूपमा प्रस्तुत गरेको हो।सरार्फ मधेस आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गर्दै युवाहरूलाई संगठित गरी आन्दोलनको कमान्ड सम्हाल्ने नेतृत्वकर्ता रहँदै आएका छन्। आन्दोलनकै क्रममा पक्राउ परेर मुद्दा समेत खेपेका सरार्फ संघर्ष, त्याग र प्रतिबद्धताको प्रतीकका रूपमा परिचित छन्।सामाजिक सेवामा समेत निरन्तर सक्रिय सरार्फले वीरगञ्जस्थित नारायणी अस्पतालको सुधार र विकासका लागि विभिन्न चरणमा अभियान सञ्चालन गर्दै आएका छन्। त्यस्तै, लोडसेडिङविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आम नागरिकको आवाज बुलन्द गरेका सरार्फले मधेस पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट मधेस’ अभियानअन्तर्गत तराई–मधेसका २२ वटै जिल्लामा पुगेर पहिचान र सम्भावनाको प्रचार गर्दै आएका छन्।कोरोना महामारीको कठिन समयमा सरार्फले ‘फुड फर निडी’ अभियान सञ्चालन गरी हजारौं सहयोगापेक्षी नागरिक, कोरोना संक्रमित, कुरुवा तथा सडकमा आश्रित जनावरहरूलाई निःशुल्क खाना वितरण गरेका थिए। साथै, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आपत्कालीन अवस्थामा मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका थिए।पछिल्लो एक वर्षदेखि सरार्फकै नेतृत्व र पहलमा लोककल्याणकारी अभियानअन्तर्गत पर्साका विभिन्न गाउँ–गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै आएको छ। ती शिविरमार्फत दश हजारभन्दा बढी नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ भने एक हजारभन्दा बढी बिरामीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न भइसकेको छ।जनमत पार्टीले सरार्फको सामाजिक योगदान, आन्दोलनकारी पृष्ठभूमि र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार मानेर पर्सा–१ बाट उम्मेदवार बनाएको जनाएको छ। स्थानीय स्तरमा उनीप्रति बढ्दो समर्थन र विश्वासका कारण आगामी निर्वाचनमा सरार्फलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
