वीरगंज वीरगंज महानगरपालिका–१६ नागवा क्षेत्रमा रहेको ऐतिहासिक माईधिया पोखरी लामो समयदेखि बेवास्तामा परेपछि स्थानीय युवाहरूको पहलमा आज व्यापक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।पोखरी लामो समयदेखि सम्बन्धित निकाय र राज्य पक्षबाट कुनै ठोस पहल नहुँदा दुर्गन्धित बन्दै गएको र वरपर फोहोर, झारपातले भरिएको अवस्थामा पुगेको थियो। यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय युवाहरूले जागरूकता अभियानसहित सरसफाइ कार्यक्रम सञ्चालन गरेका हुन्।युवाहरूले पोखरीप्रति राज्य र स्थानीय तहले सौतेनी व्यवहार गरेको आरोप लगाउँदै संरक्षण र व्यवस्थापनको अभावमा यसको अस्तित्व संकटमा परेको बताएका छन्। सरसफाइका क्रममा पोखरी वरपर थुप्रिएको फोहोर हटाइँदा पोखरीको स्वरूप केही हदसम्म सुधारिएको देखिएको छ।स्थानीय युवाहरूका अनुसार पोखरीसँग जोडिएको शिव मन्दिरको संरक्षण कार्य प्रभावकारी हुन सकेको छैन। पोखरी छेउमा रहेको मन्दिर परिसर आसपास अनैतिक गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न कडा निगरानी र आवश्यक कदम चाल्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।
