नवलपुर (पूर्व) पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा आज बिहान सवारी दुर्घटना भएको छ।कावासोतीबाट चोरमारा तर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८४७२ नम्बरको ट्रक बिहान करिब ४:३० बजेको समयमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब ४० फिट तल खस्न गई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।दुर्घटनामा ट्रक चालक देवचुली नगरपालिका–१६ निवासी ४५ वर्षीय महेन्द्र शाही सकुशल रहेका छन्। ट्रकका सहचालक कावासोती नगरपालिका–९ निवासी २३ वर्षीय सन्दिप परियार भने ट्रकभित्र खुट्टाको भाग च्यापिएर घाइते भएका छन्। घाइते परियारको उद्धार कार्य घटनास्थलमै जारी रहेको प्रहरीले जानकारी दिएको छ।घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुर (पूर्व)बाट प्रहरी निरीक्षक बिनोद अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ।
