काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र लोकतान्त्रिक अभ्यास स्थापित भइसकेको उल्लेख गर्दै सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन्।विशेष महाधिवेशनपछि जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सभापति थापाले निर्वाचन आयोगको हालैको निर्णय संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार भएको स्पष्ट पार्दै त्यसप्रति आभार व्यक्त गरेका छन्। उनले उक्त निर्णयले कांग्रेसभित्रको संस्थागत लोकतन्त्रलाई थप मजबुत बनाएको बताए।सभापति थापाले अब नेपाली कांग्रेस गुटगत राजनीतिबाट मुक्त भई मूल्य, मान्यता र आदर्शमा आधारित एकीकृत पार्टीका रूपमा अघि बढ्ने दाबी गरेका छन्। पार्टीभित्र सुधार र रूपान्तरणको यात्रा सुरु भइसकेको उल्लेख गर्दै उनले संगठन सुदृढीकरण र जनआधारित राजनीतिलाई प्राथमिकता दिइने बताए।साथै, उनले आसन्न निर्वाचनमा उच्च आत्मविश्वासका साथ सबै कांग्रेसजन एकढिक्का भएर लाग्न आह्वान गरेका छन्। लोकतन्त्रको संरक्षण, सुशासन र समुन्नत नेपालको नेतृत्व नेपाली कांग्रेसले गर्ने प्रतिबद्धता दोहोर्याउँदै सभापति थापाले जनताको विश्वास जित्ने गरी पार्टीलाई अघि बढाइने स्पष्ट पारेका छन्।उनको यस अपीललाई कांग्रेसभित्र नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ, जहाँ आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासलाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने संकेत देखिएको छ।
