पर्सामा फरार प्रतिवादी पक्राउ अभियान तीव्र, एकै दिन विभिन्न मुद्दाका ४ जना कानुनी दायरामा

जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय तथा आदेश भएर फरार रहेका प्रतिवादीविरुद्धको पक्राउ अभियानलाई तीव्र बनाउँदै एकै दिन विभिन्न प्रकृतिका मुद्दाका चार जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले बिगो भराइ, लेनदेन, चेक अनादर तथा लागूऔषधसम्बन्धी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहेको छ।फैसला कार्यान्वयनअन्तर्गत बिगो भराइ मुद्दामा पर्सा जिल्ला अदालतको आदेशअनुसार वीरगञ्ज महानगरपालिका–१६ निवासी मदन प्रसाद यादव पक्राउ परेका छन्। उनलाई अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।त्यसैगरी, लेनदेनसम्बन्धी बिगो भरीभराउ मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी राजेश प्रसाद चौहानलाई विशेष सूचनाको आधारमा पोखरिया नगरपालिका–९ स्थित पोखरिया बजारबाट पक्राउ गरिएको छ। उनी लामो समयदेखि फरार रहेका थिए।यस्तै, चेक अनादर मुद्दामा एक वर्ष कैद सजाय तोकिएका रौतहटको गुजरा नगरपालिका–२ निवासी कृष्णबहादुर गौतमलाई पनि प्रहरीले पक्राउ गरेको छ। अदालतको आदेशबमोजिम उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको जनाइएको छ।यसैबीच, लागूऔषध (गाँजा) सम्बन्धी मुद्दामा प्रतिवादी टेकबहादुर गुरुङसँग अदालतले दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, तोकिएको धरौटी रकम बुझाउन नसकेपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पुर्जी जारी गरी उनलाई कानुनअनुसार हिरासतमा राखिएको प्रहरीले जनाएको छ।प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका तथा फैसला कार्यान्वयन हुन बाँकी रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियान आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ। कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि अदालतका फैसला कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै फरार प्रतिवादीलाई कुनै पनि अवस्थामा कानुनी दायराभन्दा बाहिर रहन नदिने प्रहरीको प्रतिबद्धता छ।साथै, प्रहरीले सर्वसाधारणलाई अदालतबाट फैसला भएका व्यक्तिलाई लुकाउन वा संरक्षण नगर्न आग्रह गर्दै त्यस्ता व्यक्तिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई कानुनी प्रक्रिया सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।




