यस्तो छ प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर

काठमाडौं । प्रतिनिधिसभाको आगामी १५ दिनको सम्भावित बैठक कार्यतालिका तय गरिएको छ। शुक्रबार भदौ २६ गते बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १ गतेदेखि १५ गतेसम्म संसद् बैठक सञ्चालन गर्ने सम्भावित कार्यतालिका तय गरेको हो।तय गरिएको कार्यतालिकाअनुसार असोजको पहिलो साता प्रतिनिधिसभाको बैठक चार दिन बस्नेछ। असोज १, ५, ६ र ७ गते बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। त्यसैगरी असोज १३, १४ र १५ गते पनि प्रतिनिधिसभा बैठक बस्ने सम्भावित कार्यतालिका रहेको छ।असोज १६ गतेपछि भने संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ। यसअघि चालु भदौ महिनामा पनि ३० र ३१ गते प्रतिनिधिसभा बैठक बस्ने तयारी गरिएको छ।असोज १ गते बस्ने बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।त्यसैगरी असोज ५ गतेको बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धित समितिमा पठाउने कार्यसूची राखिएको छ।असोज ६ गते मन्त्रालयगत प्रश्नोत्तर सञ्चालन गर्ने तयारी गरिएको छ। सोही बैठकमा नागरिक लगानी कोष विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।प्रतिनिधिसभाको कार्यतालिका आवश्यकता र संसद्को कामकारबाहीअनुसार हेरफेर हुन सक्ने भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी दिनमा संसद् सञ्चालनका लागि प्रारम्भिक खाका तयार गरेको हो।




