विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ

काठमाडौं, भदौ २८ । विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूविरुद्ध सामाजिक सञ्जालमार्फत घृणा–द्वेष फैलाउने तथा सार्वजनिक नैतिकता र शिष्टाचारविपरीतका सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८, बानियाटारमा बस्दै आएका २७ वर्षीय जनक परियार रहेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परियारले विपद्का बेला खोज, उद्धार तथा व्यवस्थापनका लागि अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूलाई लक्षित गरी सार्वजनिक नैतिकता तथा शिष्टाचारविपरीतका सामग्री विद्युतीय स्वरूपमा सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण गरेका थिए।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले प्रकाशन गरेका सामग्रीले सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूप्रति नागरिकमा घृणा तथा द्वेष उत्पन्न गराउने र नागरिक तथा सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने प्रयास गरेको आरोप छ।परियारलाई प्रहरीले काठमाडौं महानगरपालिका–२९ स्थित अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीका अनुसार परियार यसअघि पनि सामाजिक सञ्जालमार्फत विभिन्न गलत सूचना, अफवाह तथा धार्मिक घृणा–द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोही क्रममा पक्राउ परी छुटेको विषयमा समेत थप अनुसन्धान भइरहेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाले विपद्को समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम, अफवाह, घृणा तथा द्वेष फैलाउने गतिविधिमाथि प्रहरीले निगरानी तथा अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।प्रहरीले विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, राष्ट्रसेवक तथा अन्य सरोकारवाला निकायविरुद्ध भ्रम फैलाउने, घृणा–द्वेष उत्पन्न गराउने वा सामाजिक सद्भावमा असर पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




