विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ मालपोत कार्यालय नजिक सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। दुर्घटनापछि फरार रहेका सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भदौ २८ गते बिहान करिब ६ः३० बजे मालपोत कार्यालय नजिक पुरुष मानिस मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका–७ कञ्चनबारी चोकतर्फ प्रदेश १–०२–००४ ह १५९६ नम्बरको सिटी सफारीले ती पुरुषलाई ठक्कर दिएको खुलेको प्रहरीले जनाएको छ।ठक्करपछि सिटी सफारी चालकले घाइतेलाई उपचारका लागि सिटीमै राखेर अस्पतालतर्फ लैजाने क्रममा मृतकलाई सडक किनारमा छाडेर फरार भएको प्रहरीको भनाइ छ।घटनापछि प्रहरीले चालकको खोजी गर्ने क्रममा मोरङको कटहरी गाउँपालिका–२ बस्ने ५५ वर्षीय अर्जुन भगतलाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।प्रहरीले दुर्घटनाको कारण, सिटी सफारी चालकको भूमिका तथा मृतकको पहिचानलगायत विषयमा थप अनुसन्धान गरिरहेको छ।




