बारा — स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचनसम्मको सरगर्मी बढ्दै जाँदा बारा जिल्लामा मतदाताको प्राथमिकतामा परिवर्तन देखिन थालेको छ। यसपटक मतदाताहरू लोकप्रिय नाराभन्दा परिणाममुखी, सक्षम र दूरदर्शी नेतृत्व रोज्नेतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ।विभिन्न टोल–टोलमा भएको प्रत्यक्ष संवाद तथा भेटघाटका क्रममा मतदाताहरूले “आजको निर्णयले भोलिको भविष्य सुरक्षित गर्नुपर्छ” भन्ने धारणा अघि सारेका छन्। उनीहरूका अनुसार तत्काल ताली पाउनेभन्दा दीर्घकालीन प्रभाव पार्ने नीति तथा योजना आवश्यक रहेको छ।यसै सन्दर्भमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रति जनचासो उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। अनुशासन, स्पष्ट लक्ष्य र दीर्घकालीन सोचका कारण उनलाई धेरैले विकास–केन्द्रित नेतृत्वको विकल्पका रूपमा हेरेका छन्।स्थलगत भेटघाटका क्रममा किसान, युवा, व्यवसायी तथा समाजसेवीहरूले देशलाई भावनात्मक नाराभन्दा व्यवहारिक दृष्टिकोण आवश्यक रहेको बताएका छन्। “देशलाई नारा होइन, दृष्टि चाहिएको छ,” भन्ने धारणा मतदाताबीच बारम्बार दोहोरिएको पाइन्छ।राजनीतिक विश्लेषकहरूका अनुसार मतदाताको सोचमा आएको यो परिवर्तन व्यक्तित्वभन्दा क्षमतामुखी राजनीतितर्फको संकेत हो। उनीहरू भन्छन्, वर्तमान अवस्थामा नीति निर्माण, सुशासन र विकासलाई प्राथमिकतामा राख्ने नेतृत्वप्रति जनआकर्षण बढ्दो क्रममा छ।यसबीच, बारा क्षेत्रको राजनीतिक वातावरण एक स्पष्ट सन्देशमा केन्द्रित देखिन्छ— अबको निर्वाचन सक्षम र परिणाममुखी नेतृत्व चयन गर्ने अवसरका रूपमा हेरिएको छ।
