गहवामाई मन्दिरमा दशैँका दर्शनार्थीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हिन्दू पत्रकार संघ नेपाल

वीरगञ्ज । हिन्दू पत्रकार संघ नेपालले यस वर्षको बडादशैँको अवसरमा दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै वीरगञ्जमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।वीरगञ्जस्थित ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा दशैँको विशेष मेलाका क्रममा नेपाल तथा छिमेकी मुलुक भारतबाट लाखौँको संख्यामा भक्तजनहरू दर्शनका लागि आउने गर्छन्। मेलामा हुने अत्यधिक भीडभाडका कारण दर्शनार्थीहरूमा अचानक देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै संघले वीरगञ्जको मुख्य चोक घण्टाघरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो।हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले दर्शनार्थीहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त परोपकारी निर्णय गरेको हो।बैठकमा संघका सचिव राजकुमार सराफ, कोषाध्यक्ष कन्हैया पटेल (बाबा), सदस्यहरू अर्जुन चौधरी, सन्तोष सराफ र राजु बैठालगायतको उपस्थिति रहेको थियो।संघका अनुसार स्वास्थ्य शिविर दशैँको महासप्तमी र महाअष्टमीका दिन सञ्चालन हुनेछ। शिविरमा अनुभवी चिकित्सकहरूको टोली प्रत्यक्ष रूपमा उपस्थित रहनेछ भने आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ।दशैँ मेलामा दर्शनार्थीहरूको ठूलो भीड लाग्ने भएकाले आकस्मिक स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर शिविर सञ्चालन गर्न लागिएको संघले जनाएको छ। यस पहलबाट मेला भर्न आउने भक्तजनहरूले आवश्यक परेको समयमा प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।धार्मिक आस्थाको केन्द्र गहवामाई मन्दिरमा आउने दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षा, सहजता र सेवामा सहयोग पुर्याउने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत यो पहल अघि बढाएको हो।

