गृहमन्त्री गुरुङको चेतावनी : संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन, कानुनी कठघरामा ल्याइन्छ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकै व्यक्तिलाई पनि उन्मुक्ति नदिइ कानुनी कठघरामा ल्याइने चेतावनी दिएका छन्।मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयताको जानाजान दुरुपयोग गरी देश तथा संगठनप्रति विश्वासघात गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने बताएका हुन्।गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उनले उल्लेख गरेका छन्।गृहमन्त्री गुरुङका अनुसार राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी हुन्। पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनले स्पष्ट पारे।‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ गुरुङले भनेका छन्।उनले राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुने बताए।‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले उल्लेख गरेका छन्।गृहमन्त्री गुरुङले संवेदनशील सूचनाको संरक्षण राज्य संयन्त्रमा कार्यरत प्रत्येक पदाधिकारी तथा कर्मचारीको महत्वपूर्ण जिम्मेवारी भएको भन्दै पदीय मर्यादा र गोपनीयता कायम गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्। उनले सूचना चुहावटमा संलग्न हुने जोसुकै भए पनि आवश्यक छानबिनपछि कानुनअनुसार कारबाही अघि बढाइने संकेत गरेका छन्।

