रिमा विश्वकर्माको ६ महिने संसदीय अनुभव : १२ पटक जनताका मुद्दा उठाएको दाबी

काठमाडौं, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले आफ्नो ६ महिनाको संसदीय अनुभव सार्वजनिक गर्दै सदनमा १२ पटक जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाएको बताएकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो संसदीय यात्राबारे जानकारी दिँदै विश्वकर्माले ६ महिनाको संसदीय अभ्यासले आफ्नो राजनीतिक बुझाइलाई थप परिष्कृत गर्न सहयोग गरेको बताएकी छन्। उनका अनुसार यस अवधिमा लोकतन्त्र, नीति निर्माण तथा राज्य सञ्चालनका व्यावहारिक पक्षलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ।
विश्वकर्माका अनुसार उनले संसद्को शून्य समयमा ९ पटक, विशेष समयमा २ पटक र आकस्मिक समयमा १ पटक गरी कुल १२ पटक जनतासँग सम्बन्धित विषय सदनमा उठाएकी छन्।
उनले हिरासतमा मृत्यु र राज्यको जवाफदेहिता, जातीय विभेद तथा दलित अधिकार, महिला तथा बालबालिकाको अधिकार र सुरक्षा, किसानका समस्या, नेपाली चलचित्र क्षेत्र, युवा तथा जेनजीका सवाल, मानसिक स्वास्थ्य, जलवायु न्याय तथा विपद् व्यवस्थापनलगायत विषयलाई संसद्मा उठाएको उल्लेख गरेकी छन्।
त्यस्तै, चलचित्र, अभौतिक सांस्कृतिक सम्पदा, राहदानी तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलगायतका विधेयक तथा प्रस्तावमा समेत आफ्नो धारणा राखेको उनले बताएकी छन्।
विश्वकर्माले निःशुल्क कानुनी सहायता, बालबालिकाको अधिकार, फोहोरमैला व्यवस्थापन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार र चलचित्रसम्बन्धी कानुन संशोधनका लागि प्रस्ताव अघि सारेको पनि उल्लेख गरेकी छन्।
राजनीतिमा प्रवेश गर्दा आफूले प्राथमिकतामा राखेका समावेशिता, सामाजिक न्याय, महिला अधिकार, सीमान्तकृत समुदायका सवाल, राज्यको जवाफदेहिता र सुशासनका विषयलाई संसद्मा पनि निरन्तर उठाउने प्रयास गरेको उनको भनाइ छ।
सांसद विश्वकर्माले आफ्नो ६ महिनाको संसदीय यात्रालाई जनताका समस्या र सवाललाई संसद्मार्फत नीतिगत बहसमा ल्याउने अभ्यासका रूपमा प्रस्तुत गरेकी छन्।




