चकलेटसहित पक्राउ गरिएको मोटरसाइकल छाड्न रकमको मोलमोलाइ भएको आरोप, सशस्त्र प्रहरी भन्छ—‘त्यस्तो केही भएको छैन’

कलैया । बारा जिल्लाको गोलागञ्जस्थित बीओपीले रौतहटका कारोबारी सुरेश सोनारले तस्करी गरी ल्याउँदै गरेको भनिएको चकलेटसहित एक मोटरसाइकल पक्राउ गरेको छ। आज बिहान पक्राउ गरिएको उक्त सामान तथा मोटरसाइकल हाल गोलागञ्जस्थित बीओपीमा राखिएको बताइएको छ।
बरामद गरिएको सामान तथा मोटरसाइकललाई नियमानुसार भन्सार कार्यालयमा बुझाउनुपर्ने भए पनि चकलेटसहित बरामद गरिएको मोटरसाइकल छाड्ने तयारी भइरहेको आरोप सार्वजनिक भएको छ। मोटरसाइकल छुटाउन एक बिचौलियामार्फत रकमको मोलमोलाइ भइरहेको दाबीसमेत गरिएको छ।
यसबारे गोलागञ्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लसँग सम्पर्क गर्दा उनले त्यस्तो कुनै गतिविधि नभएको दाबी गरेका छन्। उनका अनुसार मोटरसाइकल छुटाउनका लागि कुनै व्यक्ति बीओपीमा नआएको बताएका छन्।
घटनाबारे थप छानबिन तथा बरामद सामान र मोटरसाइकलको कानुनी प्रक्रियाबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी आउन आवश्यक देखिन्छ।

