वीरगञ्ज । माघी (खिचडी) पर्व तथा थारु सम्वत् २६५० को नयाँ वर्षको अवसरमा वीरगञ्जको आदर्शनगरस्थित स्विमिङ पुलमा भव्य तथा उल्लासपूर्ण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा थारु समुदायका साथै विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूले एक–अर्कालाई माघी पर्व तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गरेका थिए। थारु समुदायको मौलिक पहिचान झल्काउने सांस्कृतिक नाचगान, परम्परागत गीत–संगीत तथा वेशभूषाले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।यस अवसरमा थारु समुदायको परम्परागत खानपान, विशेष गरी खिचडी, माछा, मासु तथा स्थानीय परिकारहरूको व्यवस्था गरिएको थियो। सहभागीहरूले सामूहिक रूपमा परिकारको स्वाद लिँदै माघी पर्वको सांस्कृतिक महत्व र ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरेका थिए।आयोजकहरूका अनुसार माघी पर्वले थारु समुदायको नयाँ वर्षको सुरुवातसँगै सामाजिक एकता, संस्कृतिको संरक्षण तथा आपसी मेलमिलापको सन्देश दिने गर्दछ। कार्यक्रमले वीरगञ्जमा बहुसांस्कृतिक सद्भावलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको छ।
