सुर्खेतको सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक बरामद

कर्णाली, १२ असोज । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल घरेलु भरुवा बन्दुक फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सामुदायिक वनको सालघारी क्षेत्रमा ती बन्दुक बरामद गरेको हो।प्रहरीका अनुसार बनमाराको झारमुनि कालो छाताको कपडाले बेरेर लुकाइएको अवस्थामा बन्दुक फेला परेको थियो। प्राप्त सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले दुई नाल साबुत र एक नाल बेसाबुत अवस्थामा रहेका गरी जम्मा तीन नाल घरेलु भरुवा बन्दुक बरामद गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले बेवारिसे अवस्थामा रहेका बन्दुक बरामद गरिएको जानकारी दिए।बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा हतियारको स्रोतबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।




