काठमाडौँको नरेफाँटमा घरबाट सुनचाँदीका गरगहना चोरी: चोरीमा संलग्न १ सहित चोरीको गहना खरिद गर्ने ३ जना पक्राउ, गरगहना बरामद

काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।गत साउन १८ गते घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सावन कुशवाहा, पवित्रा लिम्बु, श्रीकृष्ण विश्वकर्मा र रमिला विकलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सावन कुशवाहा चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अन्य तीन जना भने चोरी गरिएका सुन तथा चाँदीका गरगहना खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ।खोजतलास तथा अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न सुन तथा चाँदीका गरगहनासमेत बरामद गरेको जनाएको छ।पक्राउ परेकाहरूलाई बरामद गरगहनासहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




