चितवन कारागारका कैदीबन्दीद्वारा रसुवा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण, मृतक तथा बेपत्ता नागरिकको सम्झनामा दीप प्रज्वलन

चितवन । मानवीय सेवाको भावनासहित चितवन कारागारका कैदीबन्दीहरूले रसुवा जिल्लाका बाढी प्रभावित नागरिकका लागि राहत सामग्री प्रदान गरेका छन्।कैदीबन्दीहरूले कारागारभित्रै आफैंले तयार पारेका बेड तथा बिस्तारालगायतका सामग्री आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत बाढी प्रभावितका लागि हस्तान्तरण गरेका हुन्।विपद्को कठिन परिस्थितिमा रहेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कैदीबन्दीहरूले आफ्नो श्रम र सीपबाट तयार पारेका सामग्री सहयोगस्वरूप उपलब्ध गराएको जनाइएको छ। उनीहरूको यो पहलले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गरेको छ।राहत सामग्री हस्तान्तरणसँगै कैदीबन्दीहरूले रसुवा बाढीमा ज्यान गुमाएका तथा हालसम्म बेपत्ता रहेका नागरिकहरूको सम्झना र सम्मानमा दीप प्रज्वलन समेत गरेका थिए।कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकहरूको सकुशल खोजी तथा प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो।चितवन कारागारका कैदीबन्दीहरूले गरेको यस मानवीय सहयोगले कारागारभित्र रहेका व्यक्तिहरूमा समेत सामाजिक सेवा, सहानुभूति र मानवीय उत्तरदायित्वको भावना बलियो रहेको सन्देश दिएको छ।




