लहान, सिराहा। गृहमन्त्री सुधन गुरुङ सिराहाको लहानमा पुगेर जिल्लाका सांसद, स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको पछिल्लो सुरक्षा अवस्था, घटनाको अनुसन्धान र शान्ति–सुरक्षाबारे छलफल गरेका छन्।
छलफलमा घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समीक्षा गरिएको जनाइएको छ।
त्यसपछि गृहमन्त्री गुरुङ मृतक गणेश यादवको परिवारलाई भेट्न तथा समवेदना व्यक्त गर्न तुलसीपुरतर्फ प्रस्थान गरेका छन्। घटनाबारे थप जानकारी लिने र पीडित परिवारको अवस्था बुझ्ने उनको कार्यक्रम रहेको बताइएको छ।
सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याउँदै आएको छ। गृहमन्त्रीको यो भ्रमणलाई पीडित परिवारप्रति ऐक्यबद्धता र घटनाप्रति सरकारको चासोका रूपमा हेरिएको छ।