इलाम। इलाम जिल्लाको माईखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपालले बिरामीको उद्धार गर्दै स्ट्रेचरमार्फत सुरक्षित रूपमा अस्पताल पुर्याएको छ।पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि उपचारका लागि अस्पताल लैजानुपर्ने बिरामीलाई सुरक्षाकर्मीहरूले जोखिमपूर्ण अवस्थामा समेत पैदल मार्ग प्रयोग गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पुर्याएका हुन्। उद्धार अभियानमा खटिएका सशस्त्र प्रहरीका जवानहरूले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेका छन्।निरन्तर वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि इलामका विभिन्न सडकखण्ड प्रभावित बनेका छन्। प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय निकायले उद्धार, राहत र सडक सञ्चालनको प्रयासलाई तीव्र बनाएका छन्।प्राकृतिक विपद्का बेला नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरीको तत्परता र मानवीय सेवाप्रतिको प्रतिबद्धताले प्रभावित क्षेत्रमा राहत महसुस गराएको स्थानीयले बताएका छन्। प्रशासनले आवश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा मौसमसम्बन्धी सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।