बारा, चैत ३०
बारा जिल्लाको सीमावर्ती क्षेत्रमा प्रहरीले भन्सार छली गरी ल्याइएका अवैध सामानहरू बरामद गरेको छ। सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्ने क्रममा गरिएको विशेष गस्तीका क्रममा उल्लेख्य मात्रामा सामग्री नियन्त्रणमा लिइएको हो।प्राप्त जानकारीअनुसार, चैत २८ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय कवहीगोठ र प्रहरी चौकी अमृतगंजखजानीबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले सुवर्ण गाउँपालिका–१ सोलखपुर क्षेत्रमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेका सामानहरू फेला पारेको थियो।प्रहरीका अनुसार करिब रु. ४ लाख १७ हजार बराबरका विभिन्न सामग्री भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा बरामद गरिएको हो। बरामद गरिएका सामानहरूमा २० थान SURYA LED टिभी, २० थान SURYA ग्यास चुल्हा, २४ थान साडी तथा ५ थान टर्च लाइट रहेका छन्।उक्त सामानहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी अझ कडा बनाइएको जनाएको छ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
