काठमाडौं — लागू औषध कारोबार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।चैत २६ गते राति करिब ११:४५ बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–गौशाला क्षेत्रस्थित एक गेष्ट हाउसमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीले उक्त गेष्ट हाउसमा गरिएको खानतलासीका क्रममा ३०.४२ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ तथा नगद रु. ५७ हजार बरामद गरेको जनाएको छ।पक्राउ पर्नेहरूमा धनुषाको सबैला नगरपालिका–२ का २६ वर्षीय माधव कुमार साह र सिन्धुलीको दुधौली नगरपालिका–४ की ३२ वर्षीया मिना कुमारी अधिकारी रहेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।प्रहरीले लागू औषध कारोबारविरुद्धको अभियानलाई अझ कडाइका साथ निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।
