जलेश्वरमा दर्दनाक दुर्घटना : आगलागीसँगै तीन जनाको ज्यान गयो

महोत्तरी जिल्लाको जलेश्वरस्थित बखरी पुल नजिक मंगलबार बिहान एक दर्दनाक सवारी दुर्घटना भएको छ। बखरी पुलबाट बलवा तर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार करिब ११:३० बजेतिर अत्यधिक गतिमा रहेका मोटरसाइकलहरू ठोक्किँदा लगत्तै आगलागी भएको थियो।
दुर्घटनापछि मोटरसाइकलमा आगो लाग्दा तीन युवक गम्भीर रूपमा जलेका थिए। स्थानीयले उद्धारको प्रयास गरे पनि आगो तीव्र भएका कारण उनीहरूलाई बचाउन सकिएको थिएन। घटनास्थलमै तीनै जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ।
केही बेरपछि पुगेको जलेश्वरको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो, तर तबसम्म ढिला भइसकेको थियो। प्रारम्भिक जानकारी अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार रहेको र उनीहरू परीक्षार्थी हुन सक्ने अनुमान गरिएको छ।
मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोकको माहोल सिर्जना गरेको छ भने अत्यधिक गति र लापरवाहीपूर्ण सवारी चलाउने प्रवृत्तिप्रति पुनः चिन्ता बढाएको छ।





