भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल को कडा निर्देशनपछि देशभरका यातायात कार्यालयहरूमा बिचौलियामाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन मन्त्रालयले यो महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।मन्त्रालयका अनुसार लामो समयदेखि यातायात कार्यालयहरूमा बिचौलियाको चलखेलका कारण सेवाग्राहीले अनावश्यक झन्झट, ढिलासुस्ती तथा आर्थिक शोषण झेल्दै आएका थिए। अब यस्तो गतिविधि पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यले कडा निगरानी तथा कारबाहीको व्यवस्था गरिएको छ।निर्देशनअनुसार अब कुनै पनि यातायात कार्यालयभित्र बिचौलिया फेला परेमा सम्बन्धित कार्यालय प्रमुख नै प्रत्यक्ष जिम्मेवार हुनेछन्। यससँगै कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन, सिसिटिभी निगरानी तथा सेवाप्रक्रियालाई डिजिटल माध्यममार्फत व्यवस्थित गर्ने तयारीसमेत अघि बढाइएको छ।मन्त्रालयले सेवाग्राहीलाई पनि सचेत रहन आग्रह गर्दै कुनै प्रकारको बिचौलिया गतिविधि देखिएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउन अपिल गरेको छ। यो निर्णयले यातायात सेवामा विश्वास बढ्नुका साथै भ्रष्टाचार न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।