वीरगन्ज, २३ माघ – वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा मासिक नि:शुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले प्रत्येक आइतबारदेखि शुक्रबार बिहान १०:३० बजे देखि बेलुका ५ बजे सम्म आफ्नो कार्यालय, वीरगन्ज-८ बाट गरीब र असहाय व्यक्तिहरूलाई निशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। यसपटक घण्टाघरमा पुराना र नयाँ गरी करिब १ हजार थान कपडा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्रले जानकारी दिनुभयो।कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथीका रूपमा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बैंकका सल्लाहकारहरू अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय, समाजसेवी वरुण चौरसिया, साथै बार एसोसिएसन पर्साका सदस्यहरू, आइज नेपाल पर्साका कोषाध्यक्ष, बैंक सदस्यहरू र पत्रकारहरू उपस्थित थिए।सो अवसरमा प्रमुख अतिथी कुर्मिले भन्नुभयो, “जोसँग धेरै कपडा छ, हामीलाई दिईदिनुहोस् र आवश्यक व्यक्तिले निशुल्क लिएर जान सक्ने व्यवस्था गर्नुहोस्।” उहाँले थप गर्नुभयो कि विगत ७ वर्षदेखि बैंकले आगलागी, बाढी, शितलहर र अन्य विपत्तिमा पिडितहरूलाई सहयोग गर्दै आएको छ। उहाँले दाताहरूलाई आफ्नो आम्दानीको ५–१० प्रतिशत सेवा क्षेत्रमा खर्च गरी मानवता बलियो बनाउने प्रेरणा दिनुभयो।अध्यक्ष लालबाबू सिंहले बैंकको काममा सहयोग पुर्याउने सम्पूर्ण दाता, सुभेच्छुक, सल्लाहकार र सदस्यहरू प्रति धन्यवाद व्यक्त गर्नु भएको छ।वीरगन्ज कपडा बैंकले यस प्रकारको सेवा अभियानलाई निरन्तरता दिँदै समाजका असहाय वर्गको जीवनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
