वाशिङ्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने आफ्नो योजनामा असहयोग गर्ने राष्ट्रहरूमाथि आयात कर बढाउने चेतावनी दिएका छन्। ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका दृष्टिले अमेरिकाका लागि अत्यन्तै रणनीतिक महत्वको रहेको दाबी गर्दै “जसरी पनि हासिल गर्ने” अडान दोहोर्याएका हुन्।ट्रम्पको उक्त योजनाप्रति अमेरिकाभित्रैबाट विरोध बढ्दै गएको छ। यसैक्रममा अमेरिकी सांसदहरूको एक सर्वदलीय टोली हाल ग्रीनल्याण्डको भ्रमणमा रहेको छ। टोलीका नेता सिनेटर क्रिस कोन्सले स्थानीय नेतृत्वसँग संवाद गर्दै तनाव कम गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार कूटनीतिक माध्यमबाट विवाद समाधान खोज्ने प्राथमिकतामा टोली रहेको छ।यता, डेनमार्क र अन्य युरोपेली सहयोगी राष्ट्रहरूले ग्रीनल्याण्डको सार्वभौमसत्ता रक्षाका लागि सुरक्षा सतर्कता बढाउँदै सैनिक परिचालन सुरु गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ग्रीनल्याण्डको सुरक्षाका लागि सैन्य सहयोग पठाउने घोषणा गर्दै ट्रम्पको कदमले नेटो गठबन्धनको एकता र विश्वसनीयतामाथि जोखिम सिर्जना गरेको टिप्पणी गरेका छन्।यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले डेनमार्क र ग्रीनल्याण्डका अधिकारीहरूसँग भेटघाट गरी विवादलाई कूटनीतिक र मध्यमार्गी उपायबाट समाधान गर्ने प्रयास गरिरहेका छन्। डेनमार्क सरकारले भने ट्रम्पको आयात करसम्बन्धी चेतावनीलाई गम्भीर रूपमा लिँदै सुरक्षा र कूटनीतिक तयारी थप कडा बनाएको जनाएको छ।ट्रम्पको पछिल्लो चेतावनीसँगै अमेरिका–युरोप सम्बन्धमा थप तनाव बढ्ने संकेत देखिएको छ भने ग्रीनल्याण्डको विषय अन्तर्राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ।
