वीरगञ्ज, ३० चैतप्रेमसम्बन्धको
विवादका कारण पर्साको वीरगञ्जमा एक युवकको वीभत्स हत्या भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चैत २९ गते दिउँसो करिब ४:४० बजे वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा २८ वर्षीय विकास कुमार चौरसियामाथि कुटपिट तथा आक्रमण गरिएको थियो।प्रारम्भिक अनुसन्धानले देखाएअनुसार विवाहेतर सम्बन्धको आशंकाबाट उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनलाई कोठामा बोलाएर आक्रमण गरिएको थियो। आक्रमणका क्रममा फलामको छड तथा धारिलो हतियार प्रयोग गरी टाउको र शरीरका विभिन्न भागमा प्रहार गरिएको प्रहरीले जनाएको छ।गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई तत्काल उद्धार गरी नारायणी अस्पताल, वीरगञ्ज पुर्याइएको थियो। तर उपचारकै क्रममा साँझ करिब ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया श्रीमती सोनी कुमारी, बारा निवासी १९ वर्षीय विशाल साह तथा भारत उत्तर प्रदेशका २१ वर्षीय ओमबीर प्रजापति रहेका छन्।घटनापछि वडा प्रहरी कार्यालय श्रीपुरसहित विभिन्न इकाइबाट खटिएको टोलीले घटनास्थल नियन्त्रणमा लिएर मुचुल्का तयार पार्नुका साथै प्रमाण संकलन गरेको थियो। अनुसन्धानका क्रममा सीसीटीभी फुटेज, कल डिटेल रेकर्ड (सीडीआर)लगायतका आधारहरू संकलन गरी विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ।प्रहरीले प्रारम्भिक रूपमा प्रेम सम्बन्धबाट उत्पन्न रिस, आवेग र शंकालाई घटनाको मुख्य कारण मानेको छ। यस घटनाले व्यक्तिगत सम्बन्धमा उत्पन्न विवादले गम्भीर परिणाम निम्त्याउन सक्ने देखाएको भन्दै संयमता र सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
