धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया महिलाको हत्या गरी घरमा डकैती गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय रामु पासवान र ‘घलथरिया’ भन्ने १८ वर्षीय राज कपुर बैठा रहेका छन्।प्रहरीका अनुसार असोज ५ गते बिहान करिब ३ बजे धोबिनी–५ निवासी श्रीनिवास साह तुराहाको दुई तल्ले पक्की घरमा उनकी श्रीमती ६२ वर्षीया लखरजिया देवीको हत्या भएको थियो। घटनापछि घरबाट नगद तथा गरगहना समेत चोरी भएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जनाले असोज ५ गते राति करिब ११ः३० बजे राज कपुर बैठाको घरमा गाँजा सेवन गर्दै चोरी गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। योजनाअनुसार उनीहरू करिब २ः३० बजे मृतकको घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलामा पुगेका थिए।प्रहरीका अनुसार उनीहरूले झ्यालबाट घरभित्र प्रवेश गरी स्टिलको दराज तोडेर नगद तथा गरगहना निकालेका थिए। त्यसपछि अर्को कोठामा रहेको टिनको बक्साको ताल्चा फुटाउँदै गर्दा आवाज सुनेर लखरजिया देवी माथिल्लो तलामा पुगेकी थिइन्।त्यस क्रममा आफूहरूलाई देखेपछि तीनै जनाले उनीमाथि कर्तव्य गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले जानकारी दिए। हत्या गरेपछि उनीहरूले घरबाट नगद तथा गरगहना लिएर फरार भएको प्रहरीले जनाएको छ।घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट एसओसीओ तथा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तथा शव परीक्षणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको थियो।अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनालाई पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले घटनासँग सम्बन्धित प्रमाणका रूपमा सुनजस्तो देखिने दुई थान चुरा, नगद ३ हजार रुपैयाँ, थप ७५० रुपैयाँ, घरको छज्जामा भेटिएको फुटप्रिन्ट, गाडीको स्प्रिङ पत्ता एक थान, पिलास एक थान र चक्कु एक थान बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार चोरी गरिएको नगद तथा गरगहना तीनै जनाले आपसमा बाँडफाँट गरेका थिए। पक्राउ परेका चन्दन कुमार पटेलको घरबाट चुरा बरामद भएको तथा राज कपुर बैठाको साथबाट खर्च गरेर बाँकी रहेको ७५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न अन्य पक्ष तथा चोरी भएको सम्पूर्ण रकम तथा गरगहनाको अवस्थाबारे समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




