हाकिम नहुँदा मौलापुर नगरपालिका ठप्प, प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउन मेयर साहको प्रधानमन्त्रीसँग माग

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको भन्दै नगरप्रमुख रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेकी छन्।नगरपालिकाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै मेयर साहले प्रधानमन्त्री शाहलाई सार्वजनिक अपिलमार्फत समस्या समाधानका लागि पहल गर्न आग्रह गरेकी हुन्। संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगर्दा नगरपालिकाका नियमित प्रशासनिक कामकाज, आर्थिक कारोबार तथा विकास निर्माणका गतिविधिसमेत प्रभावित भएको उनको दाबी छ।मेयर साहका अनुसार विगतमा नगरपालिकाले ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै आएको भए पनि गत आर्थिक वर्षमा संघीय सरकारको हस्तक्षेपका कारण बजेट खर्च ५०.६८ प्रतिशतमा सीमित भएको छ।प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको नगरप्रमुख रहँदा कर्मचारीले समयमै तलब नपाए कडा कदम चाल्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै साहले आफ्नो अपिलमार्फत व्यंग्यात्मक प्रश्नसमेत गरेकी छन्। उनले मौलापुर नगरपालिकाका कर्मचारीको तलब २ देखि ८ महिनासम्म, जनप्रतिनिधिको सुविधा ४ महिनादेखि तथा वडा सञ्चालन खर्च ८ महिनादेखि रोकिएको बताएकी छन्।मेयर साहका अनुसार असार १२ गतेदेखि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएका थिए। त्यसपछि समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा पुग्दा समेत सचिव तथा मन्त्रीसँग भेट हुन नसकेको उनको भनाइ छ।साउन ४ गते नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर भए पनि भदौ ५ गतेदेखि कार्यालयलाई जानकारी नदिई अनुपस्थित भएपछि उनी निजामती सेवाबाट अवकाशमा गएको र नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको साहले उल्लेख गरेकी छन्।हाकिम नहुँदा विकासदेखि दैनिक प्रशासनसम्म प्रभावितप्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकामा विभिन्न महत्वपूर्ण काम प्रभावित भएको मेयर साहले बताएकी छन्।उनका अनुसार कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिले महिनौँदेखि तलब तथा सुविधा पाउन सकेका छैनन्। वडा नम्बर ९ स्थित सोनारनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको भुक्तानी रोकिँदा निर्माण कार्यसमेत अलपत्र परेको छ।त्यस्तै, निःशुल्क बिजुली–पानी कार्यक्रमको महसुल भुक्तानी हुन नसक्दा ५ हजारभन्दा बढी विपन्न उपभोक्ताको विद्युत् लाइन काटिन थालेको साहको दाबी छ। ‘छोरीसँग मेयर’ कार्यक्रमअन्तर्गत ३ सयभन्दा बढी विपन्न छोरीको विवाहका लागि उपलब्ध गराइने अनुदानसमेत रोकिएको उनले बताएकी छन्।पेट्रोल पम्प, चिया पसल तथा इन्टरनेट सेवाको भुक्तानी रोकिँदा नगरपालिकाको दैनिक प्रशासनिक काम सञ्चालनमा समेत समस्या उत्पन्न भएको उनको भनाइ छ।चाडपर्व नजिकिँदै गर्दा फोहोरमैला व्यवस्थापनको कामसमेत प्रभावित भएको र नगर क्षेत्र दुर्गन्धित बन्न थालेको मेयर साहले उल्लेख गरेकी छन्।स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा उत्पन्न हुने समस्या प्रधानमन्त्री शाहले समेत विगतमा अनुभव गरिसकेको उल्लेख गर्दै साहले मौलापुर नगरपालिकालाई थप अस्तव्यस्त हुन नदिन तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेकी छन्।उनले नगरपालिकाको नियमित प्रशासनिक तथा आर्थिक गतिविधि सुचारु गर्न संघीय सरकारले तत्काल आवश्यक निर्णय गरी प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्नेमा जोड दिएकी छन्।




