प्रचण्ड–माधव एकताको वर्षदिन पुग्न लाग्दा पनि संगठनात्मक अन्योल कायमै

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत विभिन्न कम्युनिस्ट घटकबीच एकता भएर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले एक वर्ष पूरा गर्न लाग्दा पनि संगठनात्मक एकीकरण भने अझै पूर्ण रूपमा टुंगिन सकेको छैन।केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजकको जिम्मेवारीमा रहे पनि प्रदेशदेखि जनवर्गीय संगठनसम्मका संरचना पूर्ण रूपमा एकीकृत हुन नसक्दा पार्टीभित्र संगठन व्यवस्थापनको चुनौती कायमै रहेको देखिएको छ।करिब दुई दर्जनभन्दा बढी कम्युनिस्ट घटकको एकतापछि बनेको पार्टीमा करिब २५ सय सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ। तर, उक्त केन्द्रीय कमिटीको पूर्ण बैठकसमेत बस्न सकेको छैन। पार्टीको दैनिक काम सञ्चालनका लागि ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन गरिएको छ, जसले पार्टीका औपचारिक निर्णय तथा संगठनात्मक गतिविधि अघि बढाउँदै आएको छ।प्रदेश तहमा इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजक तोकिए पनि जनवर्गीय संगठनहरूको एकीकरण भने अझै अपूरो छ। विद्यार्थी संगठनमा तत्कालीन माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट विद्यार्थीहरू अलग–अलग गतिविधिमा सक्रिय छन्। युवातर्फ वाईसीएल र युवा संघको अवस्था पनि उस्तै रहेको नेताहरू बताउँछन्।मजदुरलगायत अन्य जनवर्गीय संगठनहरू पनि पूर्ण रूपमा समायोजन हुन सकेका छैनन्। पछिल्ला राहत, उद्धार तथा सार्वजनिक सरोकारका विषयमा समेत ती संगठनहरू आ–आफ्नै ढंगले सक्रिय हुँदै आएका छन्।अखिल (क्रान्तिकारी) की उपाध्यक्ष ममता अधिकारीले संगठन समायोजन पूरा नभएकाले आफूहरू अलग–अलग गतिविधिमा रहेको बताएकी छन्। उनका अनुसार संगठन समायोजनका विषयमा छलफल भने जारी छ।नेतृत्व चयनमै अल्झिएको समायोजननेकपाका नेता जगन्नाथ खतिवडाका अनुसार विद्यार्थी, युवा लगायत केही जनवर्गीय संगठनको समायोजन अझै बाँकी छ। संगठनको नेतृत्व कसले लिने भन्ने विषयमा सहमति जुट्न नसक्दा समायोजन प्रक्रिया लम्बिएको उनको भनाइ छ।उनले अब केही संगठनको मात्रै समायोजन बाँकी रहेको र त्यसलाई छिट्टै टुंग्याएर पार्टी महाधिवेशनमा केन्द्रित हुने दाबी गरेका छन्।संगठनात्मक ढिलाइले महाधिवेशन कार्यतालिका प्रभावितसंगठन समायोजन र सदस्यता विस्तारको काम समयमै पूरा हुन नसक्दा पार्टीले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका समेत प्रभावित भएको छ।नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। पूर्वनिर्धारित कार्यतालिकाअनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार, भदौमा वडा र पालिका अधिवेशन तथा असोज–कात्तिकमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।तर भदौ सकिन लाग्दासमेत सदस्यता नवीकरण तथा विस्तारको काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। पार्टी नेताहरूले भने महाधिवेशनको मूल मिति परिवर्तन नहुने र नयाँ कार्यतालिका बनाएर बाँकी संगठनात्मक काम अघि बढाउने दाबी गरिरहेका छन्।२५ सय सदस्यीय केन्द्रीय कमिटीमाथि प्रश्नठूलो केन्द्रीय कमिटी र भारी संगठनात्मक संरचनाप्रति पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।नेतृ पम्फा भुसालले केही समयअघि एक कार्यक्रममा ४५ सदस्यीय पदाधिकारीस्तरको समिति र करिब २५ सय सदस्यीय केन्द्रीय कमिटीप्रति असन्तुष्टि जनाउँदै यस्तो संरचनाबाट चुस्त र प्रभावकारी कम्युनिस्ट पार्टी निर्माण गर्न कठिन हुने धारणा राखेकी थिइन्।पार्टी प्रवक्ता प्रकाश ज्वालाले भने विभिन्न घटकलाई एकतामा समेट्नुपर्ने भएकाले हालको केन्द्रीय कमिटी ठूलो देखिएको र महाधिवेशनपछि पार्टीको संगठनात्मक संरचना थप चुस्त बन्ने दाबी गरेका छन्।नेतृत्वमा नयाँ पुस्ताको बहसमहाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी नेतृत्वमा नयाँ पुस्तालाई अघि बढाउनुपर्ने आवाजसमेत बलियो बन्दै गएको छ।वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड र माधवकुमार नेपाल दुवैलाई नेतृत्वबाट हट्न आग्रह गर्दै लिखित पत्र नै दर्ता गराइसकेका छन्। यससँगै आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण, संगठनको आकार, जनवर्गीय संगठनको समायोजन तथा पार्टीभित्र शक्ति सन्तुलनको विषय थप पेचिलो बन्ने देखिएको छ।विभिन्न कम्युनिस्ट घटकको एकताबाट बनेको नयाँ पार्टीले संगठनात्मक एकीकरणलाई पूर्णता दिन नसक्दा एकताको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेका छन्। अब बाँकी संगठनको समायोजन, सदस्यता विस्तार तथा अधिवेशनहरू समयमै सम्पन्न गर्दै महाधिवेशनमा जाने चुनौती पार्टी नेतृत्वसामु देखिएको छ।
