क्यासिनो प्रकरणपछि पोखरिया प्रहरीको नेतृत्व परिवर्तन: निरीक्षक प्रदीप पौडेल निलम्बनमा, नयाँ प्रमुखका रूपमा भानुभक्त अर्याल हाजिर

पर्सा । चर्चित क्यासिनो प्रकरणपछि इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व परिवर्तन गरिएको छ। प्रकरणमा नाम जोडिएपछि कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन्।पौडेल निलम्बनमा परेसँगै इलाका प्रहरी कार्यालय पोखरियामा नयाँ प्रहरी निरीक्षकका रूपमा भानुभक्त अर्यालले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन्। अर्याल इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवामा पोखरिया आएका हुन्।कार्यालयको नेतृत्व सम्हाल्दै प्रहरी निरीक्षक अर्यालले पोखरिया क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।क्यासिनो प्रकरणबारे अनुसन्धान जारी रहेका बेला पोखरिया प्रहरीको नेतृत्व परिवर्तनलाई महत्वपूर्ण प्रशासनिक कदमका रूपमा हेरिएको छ। अनुसन्धानलाई निष्पक्ष, प्रभावकारी र विश्वसनीय बनाउन प्रहरी संगठनले नेतृत्व परिवर्तन गरेको बताइएको छ।जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनो प्रकरणसँग सम्बन्धित विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।




