२०८२ माघ १
रामबाबु सहनी
रौतहट:- नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले योजना र बजेटबारे कुनै जानकारी नदिई जनप्रतिनिधिबाट जबरजस्ती रेडबुकमा हस्ताक्षर गराउने कार्य गरेको आरोप स्वयं निर्वाचित वडा अध्यक्षहरूले लगाएपछि नगरपालिका भित्र विवाद उत्पन्न भएको हो।
वडाध्यक्षहरूका अनुसार नगरसभा औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ । तर भाषण सकिए पछि कुन योजनामा कति बजेट छुट्याइयो भने जानकारी नदिई जबर्जस्ती रेडबुकमा हस्ताक्षर गराइने गरेको आरोप वडा न.८ का अध्यक्ष राम बशिष्ठ राय यादवले लगाएका हुन ।
“नगरप्रमुख बाहेक कसैलाई पनि योजना र बजेटको वास्तविक अवस्था थाहा हुँदैन,” वडाध्यक्ष यादवले भने । उनका अनुसार २०७९ को निर्वाचन पछि सुरुमा अवस्था सामान्य देखिए ता पनि गत आर्थिक वर्षदेखि जनप्रतिनिधिहरुलाई अन्यौलमा राख्दै बलपूर्वक हस्ताक्षर गराउने प्रवृत्ति बढ्दै गएको वडा अध्यक्ष यादव बताएका छन ।
९ वटै वडा र नगर उप–प्रमुखको बजेट सिलिङ रकम न्यून राखी अधिकांश बजेट नगर प्रमुखले आफ्नो नियन्त्रण लिने गरेको आरोप सम्पुर्ण वडा अध्यक्षहरुले लगाएको छ ।
योजनामा मनपरी रकमान्तर गरी आफू अनुकूल क्षेत्रमा बजेट सार्ने गरिएको दाबी पनि गरिएको छ ।
यसैक्रममा वडा नम्बर ८ कार्यालयले हालसम्म सम्पन्न, अधुरा तथा भुक्तानी बाँकी रहेका योजनाको विवरण माग गर्दै नगर कार्यपालिकासँग औपचारिक पत्राचार समेत यादवले गरेको छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा नगरसभाबाट पारित नगरस्तरीय तथा वडा १ देखि ९ सम्मका सबै योजनाको विस्तृत विवरणको वडा अध्यक्षहरुले माग गरेको हो ।
योजना कार्यान्वयन र भुक्तानी प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै वडा अध्यक्षहरूले आपत्ति जनाए ।
गरुडा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँको बजेट प्रस्तुत गरेको भए पनि प्रत्येक वडालाई मात्र ४० लाख रुपैयाँ विकास बजेट सिलिङ तोकिएको भन्दै जनप्रतिनिधिहरू असन्तुष्टि जनाएका छन् ।
पूर्व मेयर इन्दुराय यादवको कार्यकालमा समानीकरण बजेट ११ करोड हुँदा पनि प्रत्येक वडालाई १ करोड ५ लाख रुपैयाँ बजेट छुट्याइएको स्मरण गराउँदै वडा अध्यक्ष यादवले भने, “यस वर्ष समानीकरण बजेट १३ करोड ४० लाख पुगेको छ, तर वडालाई ४० लाखमै सीमित गर्नु स्पष्ट रुपमा आफूहरु संग अन्याय भएको हो ।”
स्थानीय जनप्रतिनिधिहरूका अनुसार जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रम सार्वजनिक नहुनु गम्भीर विषय बनेको छ ।
यसले नगरपालिकाको योजना कार्यान्वयन प्रणाली नै अपारदर्शी र जवाफदेहिहीन बन्दै गएको संकेत गरेको उनीहरूको भनाइ छ ।
यता, नगरपालिकाका योजना प्रमुख रामानन्द सहनीले वडाध्यक्षको निवेदनका आधारमा केही दिनभित्र सूचना अधिकारी मार्फत लिखित जानकारी उपलब्ध गराइने बताएको छ ।
बजेट सिलिङको विषयमा आफूलाई जानकारी नभएको भन्दै उनी पन्छिए ।नगरप्रमुख जयसवालले आफू विरुद्ध लागेका सबै आरोपहरु अस्वीकार गर्दै नगरसभामा सहभागी भएका जनप्रतिनिधिको सहमतिमै पारदर्शी रूपमा बजेट बाँडफाँड गरिएको दाबी गरे ।
मेयर जयसवालको कार्यकाल सुरुदेखि नै गरुडा नगरपालिकामा आर्थिक कारोबारलाई लिएर पटक–पटक विवाद उत्पन्न हुँदै आएको छ । निर्वाचित मेयर भए पनि नगर सञ्चालन अन्य व्यक्तिको इसारामा भइरहेको भन्दै स्थानीयस्तरमा निरन्तर गुनासो उठ्दै आएको छ ।
