बारा। बारा जिल्लामा एक व्यक्तिले भारत र नेपालमा फरक–फरक नामबाट सरकारी परिचयपत्र प्रयोग गरेको आरोप सार्वजनिक भएको छ।प्राप्त कागजातका आधारमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, औरैया पञ्चायत, लालछपरा, थाना आदापुर निवासी आलोक कुमार, पिता शिवजी चौधरी, ले भारतमा आफ्नै नाममा मतदाता परिचयपत्र (Voter ID) र आधार कार्ड प्रयोग गरिरहेको दाबी गरिएको छ।त्यस्तै, उनीमाथि नेपालमा अमोद कुमार सिंह नामबाट बारा जिल्ला, कलैया उपमहानगरपालिका–२० बाट नेपाली नागरिकता प्राप्त गरेको तथा सोही नागरिकताको आधारमा करोडौं रुपैयाँ बराबरको जग्गा–जमिन खरिद गरेको आरोप पनि लगाइएको छ।यस विषयसँग सम्बन्धित विभिन्न कागजात र प्रमाणहरू संकलन गरिएको दाबी गर्दै सम्बन्धित पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बारा समक्ष औपचारिक निवेदन दर्ता गर्ने तयारी भइरहेको जनाएको छ।यद्यपि, यी आरोपहरूको स्वतन्त्र रूपमा आधिकारिक पुष्टि भएको छैन। सम्बन्धित सरकारी निकायबाट छानबिन तथा आधिकारिक निष्कर्ष आउन बाँकी छ। मिथिला टाइम्सले निष्पक्ष पत्रकारिताको सिद्धान्तअनुसार सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि प्राथमिकताका साथ प्रकाशन गर्नेछ।