काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै हिन्दु संघ–संस्थासँग आबद्ध युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरू राजधानीको विभिन्न स्थान हुँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले घटनामा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याउन, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न र दोषीलाई कुनै पनि प्रभाव वा दबाबबिना कारबाही गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले यस्ता घटनाले सामाजिक सद्भावमा असर पुग्ने भएकाले राज्यले संवेदनशील भएर निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा बनाएका थिए। प्रदर्शनकारीहरूले न्याय सुनिश्चित नभएसम्म आफ्नो आवाज उठाइरहने चेतावनी समेत दिएका छन्।