काठमाडौं । कुवेतमा भएको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सोमकुमार तामाङको शव आज स्वदेश ल्याइने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी तेह्रथुम निवासी तामाङको निधन भएको थियो।मन्त्रालयले जनाएअनुसार मृतक तामाङको शव कुवेत एयरवेजमार्फत नेपाल ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ। कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय प्रशासन तथा सम्बन्धित कम्पनीसँग समन्वय गर्दै शव स्वदेश पठाउने आवश्यक व्यवस्थापन गरेको जनाएको छ।परराष्ट्र मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै आवश्यक कूटनीतिक समन्वय र सहयोग जारी रहने जनाएको छ।सरकारले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै यस्ता घटनामा आवश्यक सहयोग तथा समन्वय निरन्तर गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।