पर्सा सीमामा ‘नो कम्प्रोमाइज’ नीति : एसपी क्षेत्रीको कडाइमा तस्करी नियन्त्रण, १५ लाखभन्दा बढीका सामान बरामद

२० माघ, वीरगञ्ज — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर, पर्साले सीमा सुरक्षामा कडाइ गर्दै अवैध तस्करीविरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ। नव नियुक्त गणपति एसपी मोहन बहादुर क्षेत्रीले कार्यभार सम्हालेसँगै सीमा क्षेत्रमा निगरानी थप कडा बनाउँदै ठोस परिणाम देखाउन थालेका छन्।मिति २०८२ साल माघ १९ गते, वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित चेकप्वाइन्टमा खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको रु. ५,११,१०० बराबरको लत्ताकपडा बरामद गरेको छ।यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ इनर्वा लगायत विभिन्न सीमा क्षेत्रहरूमा खटिएको टोलीले सवारी साधनहरूमा लुकाइछिपाइ ल्याइँदै गरिएको रु. ५,९६,००० बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स र मोटर पार्ट्स लगायतका सामान बरामद गरेको जनाएको छ। साथै, करिब रु. ४,००,००० मूल्यको एक थान अटोसमेत नियन्त्रणमा लिइएको छ।बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार, बरामद गरिएको सामान र सवारी साधनको कुल मूल्य रु. १५,०५,१०० रहेको छ।सीमा क्षेत्रमा बढ्दो अवैध तस्करी नियन्त्रण गर्न एसपी क्षेत्रीको सक्रियता, कडा निर्देशन र प्रभावकारी नेतृत्व मुख्य कारण बनेको बताइएको छ। कार्यभार सम्हालेदेखि नै उनले “सीमा सुरक्षामा कुनै सम्झौता नहुने” स्पष्ट सन्देश दिँदै आएका छन्।उनको नेतृत्वमा सशस्त्र प्रहरी बलले देखाएको कडाइका कारण पर्सा जिल्लामा अवैध तस्करीमा संलग्न समूहहरू त्रसित बनेका छन् भने सर्वसाधारणले सीमा सुरक्षाप्रति थप विश्वास व्यक्त गर्न थालेका छन्। स्थानीय स्तरमा एसपी क्षेत्रीको परिणाममुखी कार्यशैलीको व्यापक प्रशंसा भइरहेको छ।

